कलाकारलाई कस्तो लागेको छ ट्राफिकको 'मापसे' अभियान?

मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई जाँच गर्दै कारवाही भइरहेको छ। यस सम्बन्धमा ६ कलाकारको प्रतिक्रिया र अनुभव यस्तो छ। जीवन लुइँटेल, अभिनेता
नागरिकको हितमा छ। सबैतिर 'ब्रेथलाइजर'ले परीक्षण गर्ने व्यवस्था मिलाउन सके राम्रो हुन्थ्यो। विदेशतिर 'सोसियल ड्रिङ्क'को मात्रा तोकिएको हुन्छ। यहाँ पनि त्यस्तो व्यवस्था हुनुपर्छ। पहिला अलिअलि पियर गाडी चलाउँथें। अहिले छाडेको छु। आफू पनि कारवाहीमा परिएला भनेर सचेत गराउँदो रहेछ। बाहिर पिउने क्रम त पूरै घट्यो भन्दा नि हुन्छ। साथीभाइको पनि चालचलन फेरिएको देखेको छु। आकास अधिकारी, निर्माता/निर्देशक

जनता आफैं सचेत हुनुपर्ने हो। त्यसो नहुँदा सरकारले कडाइ गरेको छ। तर, म त यो कारवाही त्यति कडा देख्दिनँ। जरिवाना तिर्ने बित्तिकै छुट्ने पनि के कारवाही? विदेशतिर भए 'ड्रङ्क ड्राइभिङ' गर्नेको लाइसेन्स नै खारेज हुन्थ्यो। कति समय मुद्दा चल्थ्यो। नेपालमा त धेरै खुकुलो छ। जाँचकर्ताले बिग्रेको मेसिन प्रयोग नगरुन्। दुई ग्लाससम्म वाइन वा बियर खानेलाई कारवाही नगर्दा हुन्छ। पार्टीमा जाँदा एक ग्लास बियरसम्म खान्छु। चेक गर्नेले नै टिल्ल खाएर बसेको पनि देखिन्छ।

जयकिशन बस्नेत, कलाकार
चेकिङ बढ्न थालेपछि पिउने मात्रा अलि घटाएको छु। नियन्त्रण गर्नु राम्रै हो तर पूरै छोड्न नि सकेको छैन। कतिपटक त जरिवाना पनि तिरियो। ट्राफिकले चोकचोकमा लाइसेन्स चेक गरेर हैरान पार्छ। नेपालमा अरु चेकिङ हुँदैन तर पैसा खान पाउने भएकाले होला लाइसेन्समा ज्यादै कडाइ छ। धानकोटबाट ककनी सुटिङमा आउँदा आठ ठाउँमा चेकिङमा परेँ। मेरो एउटै जिज्ञासा के भने पिएर सवारी चलाउनेलाई कारवाही गरेकोमा कुनै आपत्ति छैन। तर, चेक गर्न बसेकाले पिएको चाहिँ कसले जाँच्ने?

रेश्मा सुनुवार, गायिका
सुरक्षाको दृष्टिले चेकिङ गर्नु त राम्रो नै हो। यसले पिउने मान्छेलाई घरमै बसेर रमाइलो गर्न प्रेरित गर्छ जस्तो लाग्छ। दुर्घटना कम गर्न यस किसिमको कदमलाई सकारात्मक रूपमा लिन्छु। म चाहिँ अचेल चेकिङमा परेको छैन। परिहाले पनि ब्लु बुक र लाइसेन्स साथमै हुन्छ। चाडपर्वमा परिवारमै बसेर पिउँछु। त्यस्तो बेला प्रायः स्कुटर नै चलाउँदिन।

सरिता गिरी, रंगकर्मी
शहरी क्षेत्रमा बेलुकी मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूले दुर्घटना गराएको घटना निकै सुनिन्छ। चेकिङ र कारवाही बढाई ड्रिङ्स गर्नेलाई निरुत्साहित गर्न खोजेकोमा खुशी छु। हामीजस्ता मादक पदार्थ सेवन नगर्नेलाई पनि चेकिङमा धेरै समय बिताउनु पर्दा भने दिक्क लाग्छ। हाम्रैलागि भएकाले सहज रूपमा लिने गरेकी छु।


रेजिना उप्रेती
आजकल राति बाहिर नहिँडेको धेरै भयो। ट्राफिकले रक्सी पिएको चेक गर्छ भन्ने सुनेको थाहा छैन। पार्टीमा अलिअलि पिउँछु तर बाइक चलाउँदा पिउँदिन। लापरवाही गर्न पनि भएन नि। चेकिङ भइरहेको छ भने राम्रो हो। पिएर चलाउनेले गर्दा नपिउने पनि खतरामा पर्थ्यो। त्यो डर पनि हट्ने भो।

0 comments:

Get Updated From FB !!