टीकापुरमा घेरिए जीवन



टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ६ गतेदेखि शुरू भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०६८ को ८ औं दिन शुक्रवार 'नाइ नभन्नु ल' नायक जीवन लुईटेल फ्यानहरुबाट घेरिए ।


नायक लुईंटेल महोत्सवको मञ्च पछाडि बसिरहँदा उनलाई फ्यानहरुले कार्यक्रम सञ्चालिका मञ्जु पौडेललाई बोलाउन आग्रह गरिरहेका थिए । चर्को हो हल्ला र जीवन जीवन...भन्दै दर्शकहरुले माग गर्न थालेपछि उद्घोषिका पौडेलले नायक लुईटेललाई मञ्चमा बोलाइन् । नमस्ते टीकापुर भन्दै मञ्चमा झुल्किएका नायक लुईटेलले टीकापुरबासीले आफूलाई निकै माया गरेर महोत्सवमा निम्तो दिएकोमा आभार मात्र के व्यक्त गरेका थिए दर्शक दीर्घाबाट जोडदार ताली बज्यो ।

केहीवेर अघिसम्म शान्त बनेको माहोल जीवनको सम्बोधनसँगै एकाएक गुञ्जायमान बन्यो । जीवनले 'नाइ न भन्नु ल' चलचित्रको ‘मलाई थाहा छ तिम्ले मलाई माया गर्छौं भनेर, भन्न ढिलो नगर है फेरि तिम्ले भनौली र मैले नसुनौला’ मात्र के भनेका थिए दर्शकहरुले फेरि ताली पड्काए । झण्डै १५ हजार दर्शकको वान्स मोर वान्स मोरबाट हौंसिएका जीवनले आफ्नो सफल चलचित्र नाइ नभन्नु ल को शीर्ष गीत स्वर नमिले पनि गाउन भ्याए । जीवनले उक्त गीत शुरुवाती मात्र के गरेका थिए दर्शकहरु आफै नाई न भन्नु ल...भन्दै अनियन्त्रित हुँदा आयोजकलाई भींड शान्त गर्न हम्मे हम्मे परेको थियो ।


मञ्चको कार्यक्रम सकेर आराम गर्न गएका लुईंटेलसँग अटो र फोटो खिच्ने युवतीहरुको समेत जमात निकै बढेपछि आयोजकले प्रहरी लगाउनु पर्‍यो । महोत्सव स्थलमा राखिएको रमाइलो मेलामा पिङ खेल्न पुगेका नायक लुईंटेललाई दर्शक भींडबाट हुत्तिएर आएकी एक युवतीले अचानक अंकमाल गर्दै भनिन्, ‘नाइँ नभन्नु ल’ । विचरा यस्तो अन्दाज नै गर्न नसकेका जीवनले न त म तिम्रो भइसकें भन्न सके न त नाइँ नभन्नु ल नै ....


दर्शकहरुको प्रतिक्रियाबाट आफूलाई आगामी चलचित्रहरुमा राम्रो गर्ने हौसला मिलेको नायक लुईंटेलले फिल्मीखबरलाई बताए । उनले आफू समय मिलेसम्म दर्शकमाझ फेरि फेरि यस्तै कार्यक्रममा आइरहने प्रतिबद्धता व्यक्त गरे ।





0 comments:

Get Updated From FB !!